काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा दृष्टिबिहीनहरूले शुरु गरेको आन्दोलन छैटौं दिनमा पनि जारी रहेको छ ।
आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन ६ दिनदेखि धर्नामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । धर्नामा सहभागी दृष्टिबिहीन सूर्य लिम्बूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुनसक्ने टिप्पणी गरे ।
अबका दिनमा भने सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको बताए । लिम्बूले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले माईतीघरमा भइरहेको प्रदर्शनलाई बेवास्ता गरेको आरोप समेत लगाए । उनले वाह्य जिल्लाका सामान्य गतिविधिमा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको गुनासो गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद (दृष्टिबिहिन) रमेश प्रसाईंले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौंमा आफूजस्तै दृष्टिबिहीनहरुले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गर्नुभयो ।
प्रदर्शनरत दृष्टिबिहीनहरूले सरकारले चाँडै वार्ताको वातावरण सिर्जना गरी आफ्ना मागहरू पूरा गर्ने समाचार सुन्न प्रतिक्षारत रहेको बताएका छन् । ६ दिनदेखि सडकमा रहेका उनीहरूले माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।




















