काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत खुला पुरुषतर्फको उपसभापति पदमा वाग्लेबाहेक अन्य उम्मेदवार नउठेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
उपसभापति पदका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। विशेषतः, उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेका प्रस्तावक बनेका थिए।
रास्वपाको विधानअनुसार पार्टीमा तीन जना उपसभापति रहने व्यवस्था छ। तीमध्ये एक महिला अनिवार्यसहित दुई जना निर्वाचनबाट चयन हुनेछन् भने एक जना सभापतिले मनोनयन गर्नेछन्।
पुरुषतर्फको एक उपसभापति पदमा वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। यसअघि उनी निर्वाचनमार्फत केन्द्रीय सदस्यमा पनि चुनिएका थिए। पार्टी विधानअनुसार सभापति र वरिष्ठ नेता बाहेकका अन्य पदाधिकारी बन्नुअघि केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था छ।
केन्द्रीय सदस्य पदको निर्वाचनमा वाग्लेले खुलातर्फ सबैभन्दा बढी २ हजार ६०७ मत प्राप्त गरेका थिए।
यसअघि रास्वपाको सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।




















