काठमाडौँ । गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै इक्वेडर जारी विश्वकपको अन्तिम ३२ मा प्रवेश गरेको छ । यो जितसँगै दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विश्वकपमा आफ्नो यात्रा जीवन्त राखेको हो ।
गएराति भएको समूह ‘ई’ को तनावपूर्ण खेलमा सुरुवाती अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई अघि बढाएका थिए । फ्लोरियन विर्ट्जको पासमा सानेले प्रहार गर्नुअघि जर्मनीका अलेक्ज्यान्डर पाभ्लोभिचको बुट इक्वेडरका पेड्रो भिटेको टाउकोमा लागेको भन्दै इक्वेडरका खेलाडीहरूले फलको माग गरे पनि रेफ्रीले गोललाई मान्यता दिएका थिए । यस निर्णयले खेलमा केही बेर तनाव उत्पन्न गराएको थियो ।
समूह चरणबाटै बाहिरिने खतरामा रहेको इक्वेडरले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । खेलको नवौँ मिनेटमा नील्सन एङ्गुलोले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । जर्मनीका फेलिक्स न्मेचाले आफ्नै हाफमा बल गुमाएपछि एङ्गुलोले म्यानुएल नोयरलाई जिल्याउँदै गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमै जर्मनीका काई हाभर्ट्जलाई जोएल ओर्डोनेजले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले जर्मनीलाई पेनाल्टी दिएका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीको हस्तक्षेपपछि उक्त पेनाल्टीको निर्णय उल्टियो । भीएआरले पेनाल्टीअघि सानेले भिटेमाथि फल गरेको देखाएको थियो, जसले इक्वेडरलाई ठुलो राहत मिल्यो ।
खेल सकिन १३ मिनेट बाँकी छँदा इक्वेडरले निर्णायक गोल गर्यो । कर्नरबाट आएको बललाई केभिन रोड्रिगेजले फ्लिक गरेपछि अनमार्क रहेका गोन्जालो प्लाटाले प्रहार गर्दै बललाई जाली चुमाए । यस गोलसँगै न्यु जर्सीको रङ्गशालामा उपस्थित हजारौँ इक्वेडरी समर्थक खुसीले झुमेका थिए ।
यो जितसँगै इक्वेडर विश्वकपको इतिहासमा दोस्रो पटक नकआउट चरणमा पुग्न सफल भएको छ । अर्कोतर्फ, यस पराजयले जर्मनीको लगातार ११ खेलको जितको यात्रामा पूर्णविराम लगाएको छ ।




















