काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीलाई मागबमोजिम आदेश किन जारी गर्न नपर्ने हो भन्नेबारे कारणसहित जवाफ पेश गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतले विष्णु पौडेललाई अदालतमा उपस्थित गराउन पनि आदेश दिएको छ। यससम्बन्धी विस्तृत लिखित आदेश भने आउन बाँकी रहेको छ।
बुधबार पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरेकी थिइन्।
रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको आरोपमा विष्णु पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।




















