काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएको छ भने पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान दिउँसो ४ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ।
रास्वपाका नेता मनिष झाले केहीबेरअघि पहिलो चरणअन्तर्गत केन्द्रीय सदस्यहरूको मतदान सकिएको जानकारी दिए। केन्द्रीय निर्वाचन आयोगका अनुसार औसतमा प्रत्येक स्टेशनबाट करिब ३१० मत खसेको छ।
‘एउटा स्टेशनमा आठवटा सबस्टेशन गरी ८० वटा बुथ बनाइएको थियो। औसतमा एउटा स्टेशनबाट ३१० जति मत खसेको छ। समग्रमा करिब ३ हजार १०० मत खसेको प्रारम्भिक विवरण आएको छ,’ झाले भने।
महाधिवेशनमा देखिएको प्रतिनिधिहरूको उत्साहजनक सहभागितालाई पार्टीले सकारात्मक रूपमा लिएको उनले बताए।
उनका अनुसार सभापति रवि लामिछानेले दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेका छन्। दोस्रो चरणमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ।
‘निर्वाचन आयोगको आकलनअनुसार एक प्रतिनिधिले ४ देखि ५ मिनेटभित्र मतदान प्रक्रिया पूरा गर्न सक्छन्। त्यसैअनुसार दोस्रो चरणको निर्वाचनको तयारी सुरु गर्न निर्देशन दिइएको छ,’ झाले जानकारी दिए।




















