काठमाडौँ । नेपाल सरकारले भेनेजुएलाको राजधानी काराकास केन्द्रित शक्तिशाली भूकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
नेपाली समयअनुसार बिहीबार बिहान करिब ४ बजे ७.२ र ७.५ म्याग्निच्युडका लगातार दुई शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका छन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै भेनेजुएला सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बुधबार साँझ काराकासबाट करिब २९० किलोमिटर पश्चिममा सुरुमा ७.२ र त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको भूकम्प गएको हो।

बीबीसीका अनुसार भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको हुन सक्ने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरिएको छ। यद्यपि, भेनेजुएला सरकारले हालसम्म मृत्यु र क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।
भूकम्पका कारण काराकाससहित विभिन्न सहरमा भवनहरू भत्किएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार काराकास अन्तर्राष्ट्रिय विमानस्थलको छतको एक भाग पनि क्षतिग्रस्त भएको छ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा राष्ट्रिय आपत्काल घोषणा गरेकी छन्। यो भूकम्प पछिल्लो १२६ वर्षयताकै सबैभन्दा शक्तिशाली मानिएको छ। यसअघि सन् १९०० मा त्यहाँ ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो।





















