काठमाडौं । दक्षिण अफ्रिकाले दक्षिण कोरियामाथि १–० को महत्वपूर्ण जित निकाल्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई जित दिलाउन थापेलो मासेले खेलको ६३औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो।
यो दक्षिण अफ्रिकाको विश्वकप इतिहासकै विशेष उपलब्धि हो। चौथोपटक विश्वकपमा सहभागी भएको टोलीले पहिलोपटक समूह चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। यसअघि सन् १९९८, २००२ र २०१० का विश्वकपमा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको थियो।
दक्षिण अफ्रिकाले तीन खेलबाट चार अंक जोड्दै समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। सहआयोजक मेक्सिको भने शतप्रतिशत नतिजासहित नौ अंक बटुल्दै समूह विजेताका रूपमा अघिल्लो चरणमा पुगेको छ।
समूहमा तीन अंक जोडेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीमध्ये पर्न सके दक्षिण कोरियाको नकआउट यात्रा पनि सम्भव हुनेछ। त्यसका लागि भने उसले अन्य समूहका नतिजाको प्रतीक्षा गर्नुपर्नेछ।
तीन खेलबाट मात्र एक अंक जोडेको चेक रिपब्लिक भने प्रतियोगिताबाट बाहिरिएको छ।




















