काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने प्रमुख दायित्व सरकारको भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘व्यवसाय र मानव अधिकार’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै अध्यक्ष मगरले व्यवसाय सञ्चालनका क्रममा कुनै पनि प्रकारको मानव अधिकार हनन भए त्यसको निगरानी र नियमन गर्ने जिम्मेवारी सरकारकै हुने बताए।
उनले व्यवसायीहरूले पनि आफ्नो गतिविधि सञ्चालन गर्दा मानव अधिकारको सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। मानव अधिकार उल्लंघन भए आयोगले त्यसको अध्ययन गरी दोषीमाथि कारबाहीका लागि सरकारलाई आवश्यक निर्देशन दिने काम गरिरहेको उनले बताए।
‘मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने काम सरकारको हो। सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्नुपर्छ। व्यवसाय सञ्चालनका क्रममा कुनै किसिमबाट मानव अधिकार हनन भएको छ भने त्यसको निगरानी पनि सरकारले गर्नुपर्छ,’ उनले भने।
अध्यक्ष मगरले व्यवसायीहरूले आफ्नो कारोबार सञ्चालन गर्दा मानव अधिकार उल्लंघन हुन नदिने विषयमा विशेष सचेत रहनुपर्ने उल्लेख गरे। मानव अधिकारको सम्मान गर्दै व्यवसाय सञ्चालन गर्न नसकिए त्यसबाट उत्पन्न हुने समस्याप्रति आयोगले ध्यान दिने उनको भनाइ थियो।
उनले कुनै पनि व्यवसाय सञ्चालनका क्रममा उपभोक्ताको मानव अधिकार हनन हुन नदिन सरकारले प्रभावकारी व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए।




















