काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका महाधिवेशन प्रतिनिधिलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ।
विदेशस्थित नेपाली सम्पर्क विभागबाट चयन भएका १६३ प्रतिनिधिमध्ये महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नसक्ने प्रतिनिधिले आफू रहेकै स्थानबाट मोबाइल एप प्रयोग गरेर मतदान गर्न पाउने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।
महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिका लागि भने विद्युतीय मतदान प्रणाली अपनाइएको छ। त्यसका लागि ८० वटा इलेक्ट्रोनिक मतदान मेसिनको व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
पार्टीले महाधिवेशनको मतदान प्रक्रियालाई सहज, छिटो र प्रविधिमैत्री बनाउन स्वदेश र विदेशमा रहेका प्रतिनिधिका लागि छुट्टाछुट्टै विद्युतीय प्रणाली प्रयोगमा ल्याएको जनाएको छ।




















