काठमाडौं । मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा आज विहान भएको खेलको दोस्रो हाफमा ड्यानिएल मुनोजले गरेको गोलको मद्दतमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कंगोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
लगातार दोस्रो जित निकालेको कोलम्बियाले ६ अंकसहित समूहको शीर्ष स्थानमा आफूलाई मजबुत बनाएको छ। यसअघि पहिलो खेलमा उसले उज्वेकिस्तानलाई ३–१ ले हराएको थियो।
दुई खेलबाट १ अंक जोडेको डिआर कंगो भने तेस्रो स्थानमा छ। पहिलो खेलमा बराबरी खेलेको कंगोले दोस्रो खेलमा हार बेहोरेको हो।
खेलमा सुरुआतदेखि नै कोलम्बियाले आक्रामक खेल प्रदर्शन गरे पनि गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो। ७६औँ मिनेटमा जुआन क्वाटेरोको पासमा ड्यानिएल मुनोजले गरेको गोल नै खेलको निर्णायक बन्यो।
लुइस डियाजले त्यसपछि दुई पटक जाली चुमाए पनि दुवै गोल अफसाइडका कारण मान्य भएनन्।
पहिलो हाफमा डिआर कंगोका गोलकिपर लियोनल एमपासी उत्कृष्ट लयमा देखिए। उनले ६ वटा महत्वपूर्ण बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए। समग्र खेलमा कोलम्बियाले १९ सट प्रहार गर्दा ९ सट लक्ष्यमा राखेको थियो, जसमा एमपासीले ८ वटा बचाउ गरे। कंगोले भने ८ सट प्रहार गर्दा एक मात्र सट लक्ष्यमा राख्न सफल भयो।
समूह विजेता बन्ने लक्ष्यसहित कोलम्बियाले अब अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ। मंगलबार उज्वेकिस्तानलाई ५–० ले हराएको पोर्चुगललाई नकआउट चरणमा पुग्न कोलम्बियाविरुद्ध बराबरी पर्याप्त हुनेछ।
यता डिआर कंगोले अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाल्न सके कंगोले उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना छ।




















