काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई कांग्रेसले सम्मान र माया गरे पनि सदस्यका रूपमा नचिन्ने बताएका छन्। झापामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतर पक्षका नेताहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भमा थापाले अब पार्टीको प्रणालीले नै अद्यावधिक नगरेकाहरूलाई क्रियाशील सदस्यका रूपमा नचिन्ने स्पष्ट पारे।
‘सबै नेताहरूलाई म सम्मान गर्छु, सबैले अधिवेशनमा भाग लिनुपर्छ भन्ने पनि ठान्छु। तर सदस्यता अद्यावधिक नगरेको व्यक्तिलाई पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन,’ उनले भने।
वडादेखिको अधिवेशन प्रक्रिया सुरु हुने उल्लेख गर्दै थापाले अद्यावधिक नभएका सदस्यहरूको विवरण निर्वाचन प्रतिनिधिले समेत नबोक्ने र उनीहरूको नाम प्रणालीमा नआउने बताए।
पार्टीमा नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएकोमा खुसी व्यक्त गर्दै उनले कांग्रेसलाई अगाडि बढाउन सक्षम युवाहरू आएको बताए। नेतृत्वमा लामो समयसम्म एउटै व्यक्ति अड्किएर बस्ने प्रवृत्तिले पार्टी सञ्चालन हुन नसक्ने उनको भनाइ थियो।
यसैबीच, थापाले विधिको शासनमा कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै सरकारले कानुनी सीमाभित्र रहेर जुनसुकै प्रकरणको अनुसन्धान गर्न सक्ने बताए।
‘सरकारले अनुसन्धान गरोस्, पुराना सबै फाइल खोलोस्। हाम्रो पार्टीकै नेता दोषी देखिए भने पनि कांग्रेसले चुइँक्क गर्दैन। तर अनुसन्धान कानुन र विधिको सीमाभित्र बसेर हुनुपर्छ,’ उनले भने।
थापाले कांग्रेसले नागरिकका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाइरहेको भन्दै भूमिहीन सुकुम्वासीको समस्या, चिया किसानका मुद्दा तथा एसइई र कक्षा १२ को नतिजा प्रकाशनका क्रममा देखिएका समस्याबारे पनि पार्टी गम्भीर रहेको बताए।
उनले नतिजा प्रकाशनमा हतार गर्दा सयौँ विद्यार्थी समस्यामा परेको उल्लेख गर्दै पीडित अभिभावक र विद्यार्थीका गुनासा सुनेर त्यस विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।




















