काठमाडौं । नेकपा एमालेका युवा नेता तथा राजनीतिक विश्लेषक दयालबहादुर शाहीले पार्टीभित्र बढ्दो आन्तरिक विवाद र नेतृत्वबीचको दूरीले एमाले कमजोर बन्दै गएको भन्दै तत्काल कलह अन्त्य गर्न आग्रह गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले एमालेमाथि बाह्य रूपमा विभिन्न प्रकारका हमला र षड्यन्त्र भइरहे पनि पार्टीभित्रको निरन्तरको द्वन्द्व र असमझदारीले संगठन थप बिथोलिएको बताएका छन्।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच सम्भावित दूरी बढेको संकेत गर्दै आफूले महासचिव पोखरेललाई नेताहरूबीचको पुल बन्न र सम्बन्ध सुधारका लागि पहल गर्न आग्रह गरेको उल्लेख गरेका छन्। तर, त्यसमा अपेक्षित पहल हुन नसकेको उनको गुनासो छ।
त्यस्तै, नेता प्रदीप ज्ञवालीसँग पनि भेटेर अध्यक्ष ओली, विष्णु पौडेल र शंकर पोखरेलबीच उत्पन्न असन्तुष्टि र मनमुटाव अन्त्य गर्न पहल गर्न अनुरोध गरेको उनले बताएका छन्। नेतृत्वबीचको संवाद र समझदारीले मात्र पार्टीलाई संकटबाट जोगाउन सकिने उनको भनाइ छ।
शाहीले आन्तरिक घात–प्रतिघातले एमालेलाई दग्ध बनाइरहेको उल्लेख गर्दै तत्काल विवाद र बखेडा रोक्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले अहिले भइरहेको प्रक्रियालाई ‘पुनर्गठन’ नभई ‘पुनर्पतन’ को संज्ञा दिँदै त्यसलाई खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले पार्टीभित्रको शक्ति र ऊर्जा आफ्नै नेता, कार्यकर्ता र उत्तराधिकारीविरुद्ध प्रयोग गर्नु गलत सुरुवात भएको भन्दै संगठनभित्र समझदारी, एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
उनले लेखेका छन् –“सुशीला सरकार जंंगी अड्डाको धाइ आमा थियो । बालेन सरकार जंगी अड्डाको झट्केलो हो । सफ्ट कु, अघोषित प्रतिगमन र कलापूर्ण वाह्य अक्रमण गरेर ओलीमय नेपाल विथोलेर मोदीमय भारतलालाई सघाइएको छ।
एमालेमाथिको हमला र षडयन्त्र असामान्य र अविरल छ। र पनि एमाले थलिएको आफ्नै आन्तरिक यदुवंशी शैलीको निरन्तरको कलह सिलसिलाले गर्दा हो। उता भाजपा मोदीका निम्ति ढाल बनेको छ। यता एमाले ओलीका निम्ति काल बनाइदैछ । बार बार भेटेर महासचिव शंकर पोखरेललाइ मैले बा र विष्णु पौडेल बीचको संभावित दरार पुर्न र नेताद्वयबीचको पुल बन्न अनुरोध गरेँ। भगवान शंकर जस्तै अन्तरमुखी उहाँ खुल्नु भएन। जे खराव सुरूवात सहित आउनु भयो, एमाले थप बिथोलिएको छ। उहाँ नराम्रोसँग चुक्नु भएको छ।
शालीन नेता प्रदीप ज्ञवाली कमरेडलाई भेटेर बा, विष्णु र शंकर कमरेडका मन र मस्तिष्कहरु कहाँ कहाँनेर दुखेका र भत्केका छन् , त्यहीँनेर मलम लगाउन र मर्मत सभार गर्न अनुरोध गरेको छु।
घात प्रतिघातको यो कालकुट विषले एमाले दग्ध पार्दैछ। तत्काल तत्क्षण कलह रोक्न जरुरी छ। पतनबाट जोगिन बिवाद र बखेडा रोकौं। समजदारी गरौं। यो पुनर्गठन होइन, यो पुनर्पतन हो । यसलाई खारेज गरौं । बटारिएका पाखुरा र मसल त बैरीमाथि बजारिनु पर्ने हो। आफ्नै महानायक, महागुरु र अग्रज, शिष्य, अनुयायी र उत्तराधिकारीमाथि प्रयोग गर्नु खराव सुरुवात हो ।”




















