काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले परिणाम जेसुकै आए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन्।
बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले आफू महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेको र चुनावी प्रतिस्पर्धामा उत्रिन प्रतिबद्ध रहेको बताए।
‘म महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेँ। परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार छु,’ उनले भने।
महामन्त्रीमा उम्मेदवारी दिने विषयमा सञ्चारमाध्यममा आएका चर्चाप्रति प्रतिक्रिया दिँदै उनले ती समाचार आफ्नो स्वीकारोक्तिसहित नै आएको बताए। ‘मिडियामा जसरी चर्चा आएको छ, त्यो स्वीकारोक्तिका साथ आएको हो। मप्रति गरिएको दाबी र अपेक्षालाई स्वाभाविक रूपमा लिन सकिन्छ,’ उनले भने।
झाले आफूले देशको प्रधानमन्त्री वा पार्टीको सभापति बन्ने लक्ष्य नराखेको स्पष्ट पार्दै नेतृत्वको जिम्मेवारीमा भने क्रमशः अघि बढ्ने आकांक्षा रहेको बताए।
‘यो देशको प्रधानमन्त्री वा पार्टीको सभापति नै बन्छु भन्ने मेरो कहिल्यै अपेक्षा छैन। तर, अहिलेसम्म जुन तहको नेतृत्व गर्दै आएको छु, त्यसभन्दा अगाडि बढ्ने अपेक्षा स्वाभाविक रूपमा हुन्छ,’ उनले भने।




















