काठमाडौं । कतारको रास लाफान औद्योगिक सहरस्थित ग्यास प्लान्टमा भएको भीषण विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार ठूलो आगलागीपछि भएको विस्फोट अहिले नियन्त्रणमा आइसकेको छ।
कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ भने बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ। मन्त्रालयले विस्फोट प्राविधिक दुर्घटनाका कारण भएको जनाएको छ। साथै, सार्वजनिक सुरक्षामा असर पर्ने खालको कुनै ग्यास चुहावट नभएको पनि स्पष्ट पारेको छ।
गृह मन्त्रालयका अनुसार कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह तथा नागरिक सुरक्षा टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन् र बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको छ।
घरेलु बजारमा ग्यास आपूर्ति गर्ने उक्त प्लान्टमा विस्फोटबाट उत्पादन वा आपूर्तिमा कति असर परेको छ भन्नेबारे भने अधिकारीहरूले कुनै विवरण सार्वजनिक गरेका छैनन्।
यसैबीच, एक प्रत्यक्षदर्शीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै विस्फोटको ठूलो आवाज राजधानी दोहासम्म सुनिएको बताएका छन्। घटनाको कारण र क्षतिको पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको छ।




















