काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको एकता, सुदृढ संगठन र स्पष्ट वैचारिक दिशाको आवश्यकता औँल्याएका छन्। पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी कमजोर बन्दै गएको अवस्थामा आफूहरू मुकदर्शक बनेर बस्न नसक्ने चेतावनी दिएका छन्।
आइतबार जारी विज्ञप्तिमा उनीहरूले आगामी महाधिवेशनले कार्यकर्तामा विश्वास जगाउने स्पष्ट वैचारिक मार्गदर्शन, सुदृढ संगठनात्मक दृष्टि र व्यवहारिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन्। साथै, विभिन्न कारणले पार्टी छोडेका नेता–कार्यकर्तालाई पुनः राप्रपामा फर्किन आग्रहसमेत गरेका छन्।
शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तीन पूर्वअध्यक्षले उक्त निर्णयलाई स्वागतयोग्य भन्दै समयमै निष्पक्ष ढंगले महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत सहभागी हुने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठनको प्रस्ताव आफूहरूले अघि सारेको स्मरण गराउँदै त्यसलाई आत्मसात् गर्नुको सट्टा पूर्वअध्यक्षहरूमाथि नै आरोप र लाञ्छना लगाउने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
‘राप्रपा तथा यसको विचार, आदर्श र लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता सधैं अटल र अविचल छ,’ विज्ञप्तिमा उल्लेख छ। पार्टीभित्र बढ्दो निराशा र विभाजनको संकेतप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीतिमा आफूहरू संलग्न नरहेको स्पष्ट पारेका छन्।
महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसँग तीन पूर्वअध्यक्षको दूरी बढेको थियो। सोही असन्तुष्टिका कारण उनीहरूले केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए। तर, मंसिरमा महाधिवेशन गर्ने निर्णयपछि उनीहरूले संयुक्त विज्ञप्तिमार्फत पार्टीपंक्तिलाई महाधिवेशन केन्द्रित हुन र संगठन सुदृढीकरणमा लाग्न आह्वान गरेका छन्।
‘पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको वर्तमान अवस्थामा हामी मूकदर्शक बनेर बस्न वा पलायन हुन सक्दैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा पूर्वाग्रह छैन, हामी कुनै गुट वा समूहको राजनीतिमा पनि संलग्न छैनौं।’






















