काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा इजिप्टले न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान उक्लिएको छ । सोमबार बिहान क्यानाडाको भ्यानकुभरस्थित बिसि प्लेस रंगशालामा भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै इजिप्टले १ का विरुद्ध ३ गोल गरेको हो ।
खेलको १५औँ मिनेटमा फिन सम्र्यानले गोल गर्दै न्यूजिल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसपछि इजिप्टले खेलमा पकड जमाउँदै लगातार तीन गोल गर्यो।
इजिप्टका लागि ५८औँ मिनेटमा मोस्तफा जिकोले बराबरी गोल गरे। त्यसको नौ मिनेटपछि कप्तान मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। ८२औँ मिनेटमा ट्रेजेग्वेटले अर्को गोल थपेपछि इजिप्टले ३–१ को सहज जित सुनिश्चित गर्यो।
खेलभर बल नियन्त्रण र प्रहारको संख्यामा इजिप्ट हाबी देखिएको थियो। जितसँगै इजिप्टले दुई खेलबाट चार अंक जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। यससँगै उसको नकआउट चरणमा पुग्ने सम्भावना थप बलियो बनेको छ।
समूहमा इरान र बेल्जियमको समान दुई–दुई अंक रहेको छ भने न्यूजिल्यान्ड एक अंकमा सीमित छ ।




















