काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा रहेका मतदाताको समर्थनसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको बताएका छन्।
रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले रास्वपाका वरिष्ठ नेता बालेन शाहले राजसंस्था पुनर्स्थापना गराउन सक्छन् भन्ने अपेक्षाका कारण पनि केही मतदाताले रास्वपालाई समर्थन गरेको दाबी गरे।
‘राजा चाहिन्छ भन्नेहरूको पार्टी राप्रपा हुँदाहुँदै पनि बालेनले राजा ल्याउँछन् भन्ने आशामा तपाईंहरूलाई भोट दिएका छन्,’ उनले भने, ‘जनताको त्यो विशिष्ट चाहनालाई सम्बोधन गर्ने जिम्मेवारी तपाईंहरूमाथि छ।’
लिङ्देनले मुलुकका समस्या केवल नेतृत्वमा मात्र सीमित नरहेको भन्दै संविधान र विद्यमान संवैधानिक व्यवस्थामा पनि सुधार आवश्यक रहेको बताए।
‘यो संविधानमा सुधार नगरी देश अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘तपाईंहरूसामु ऐतिहासिक अवसर छ, त्यसलाई सदुपयोग गर्नुपर्छ।’




















