काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङ र व्यक्तिगत आक्रमणका कारण मानवअधिकारसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्।
आइतबार शान्तिका लागि सामूहिक अभियान (कोक्याप) ले आयोजना गरेको मानवअधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले जेन–जी आन्दोलनसम्बन्धी घटनामा आयोगले तथ्य र प्रमाणका आधारमा निष्पक्ष प्रतिवेदन तयार पारे पनि त्यसपछि आफूहरूमाथि विभिन्न आरोप र साइबर आक्रमण बढेको गुनासो गरिन्।
आयोगले अनुसन्धानबाट प्राप्त तथ्यहरू कुनै पूर्वाग्रहबिना सार्वजनिक गरे पनि सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी, गालीगलौज र चरित्रहत्या गर्ने प्रयास भइरहेको उनको भनाइ थियो। आयोगका पदाधिकारी, सञ्चारकर्मी तथा अनुसन्धानमा संलग्न व्यक्तिहरू निरन्तर साइबर आक्रमणको निशानामा परेको भन्दै उनले यसले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने वातावरण खुम्चिँदै गएको बताइन्।
नागरिक समाजको भूमिकाप्रति पनि प्रश्न उठाउँदै थापाले साइबर बुलिङका घटनामा नागरिक समाज मौन रहेको आरोप लगाइन्। जेन–जी आन्दोलनको घटनामा छानबिनको दायरामा आउनुपर्ने व्यक्तिहरू नै अहिले नीतिनिर्माण तहमा पुगेको उल्लेख गर्दै उनले द्वन्द्वकालीन घटनाजस्तै यो विषय पनि ओझेलमा पर्ने खतरा रहेको बताइन्।
‘जेन–जी घटनामा आयोगले निष्पक्ष प्रतिवेदन तयार पारेको छ। तर अहिले यस्तो साइबर बुलिङ छ कि सामाजिक सञ्जालमा प्रयोग भएका केही शब्दहरू उल्लेख गर्न पनि सकिँदैन,’ उनले भनिन्, ‘निरन्तर गाली र आक्रमणका कारण मैले फेसबुक र मिडिया हेर्नसमेत छाडेकी छु। यस्तो अवस्थामा भोलि कसले निष्पक्ष भएर काम गर्ने ?’
आयोगले सरकारलाई दिएका सिफारिसहरूको कार्यान्वयनका लागि अनुगमन गर्ने प्रक्रिया रहे पनि नागरिक समाजले सुरुदेखि नै दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। अन्यथा आयोगका सिफारिसहरू मन्त्रालय र प्रधानमन्त्री कार्यालयका दराजमै सीमित हुने उनले चेतावनी दिइन्।




















