काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा एसियाली राष्ट्र जापानले ट्युनिसियामाथि ४-० को प्रभावशाली जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ।
समूह एफअन्तर्गत मेक्सिकोको मोन्टेरेमा सम्पन्न खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले समान एक–एक गोल थपे।
दुई खेलबाट जापानले चार अंक जोडेको छ र अंक तालिकामा नेदरल्यान्ड्ससँग बराबरीमा पुगेको छ। जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो।
यता, लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो।
जापानले विश्वकप इतिहासमा ट्युनिसियामाथि दोस्रो पटक जित दर्ता गरेको हो। यसअघि सन् २००२ को विश्वकपमा घरेलु मैदानमा जापानले ट्युनिसियालाई २-० ले हराएको थियो।




















