चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोह आयोजना हुने स्थलमा वर्षापछि पानी जम्दा कार्यकर्ता तथा स्वयंसेवकहरू मोटरको सहायताले पानी निकाल्न जुटेका छन्।
जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौरमा महाधिवेशन उद्घाटनका लागि छानासहितको ‘जर्मन ह्याङ्गर’ निर्माण गरिएको छ। होचो भूभाग भएकाले वर्षापछि मुख्य खण्डमा पानी जमेको हो।
आयोजकका अनुसार सहभागीहरू बस्ने तीनवटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लामो मुख्य खण्डमा सबैभन्दा बढी पानी जमेको छ। माथिल्लो सेक्सनमा भने सामान्य मात्र पानी रहेको छ भने तल्लो भागमा छिपछिपे अवस्था देखिएको छ।
रास्वपाका एक नेताका अनुसार मुख्य सेक्सनमा केही स्थानमा गोलीगाँठोसम्म डुब्ने गरी पानी जमेको छ र त्यसलाई मोटरको प्रयोगमार्फत हटाउने काम भइरहेको छ।
घाम र वर्षाबाट जोगिन निर्माण गरिएको ह्याङ्गरमा करिब पाँच हजार कुर्सी राख्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। दिउँसो २ बजे उद्घाटन सत्र सुरु हुने भएकाले त्यसअघि नै पानी हटाएर स्थल प्रयोगयोग्य बनाइने अपेक्षा गरिएको छ।
महाधिवेशनको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साहले घण्टी बजाएर गर्ने कार्यक्रम छ।
चैत ७, ८ र ९ गतेसम्म सञ्चालन हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्टहाउस चौरमा आयोजना गरिनेछ भने बन्दसत्र चितवन उद्योग संघको हलमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।




















