काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ ।
कोषकी प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लुको सङ्क्रमण देखिएको बताए । “चिडियाखानामा बर्डफ्लुका कारण काग र परेवा मरेको पाइयो । पशु चिकित्सक तथा सम्बन्धित विज्ञसँग परामर्श गरिरहेका छौँ”, उनले भने, “अन्य वन्यजन्तुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवश्यक उपाय अवलम्बन गरिएको छ ।”
प्रवक्ता शाहका अनुसार तत्कालका लागि चिडियाखाना आगन्तुकका लागि बन्द गरिएको छ । कम्तीमा दुई सातासम्म बन्द रहने र त्यसपछिको अवस्था विज्ञहरूको सुझाव तथा जोखिम मूल्याङ्कनका आधारमा तय गरिने उनले बताए ।
चिडियाखानाभित्र रहेका अन्य जीवजन्तुको स्वास्थ्य अवस्था निगरानी बढाइएको तथा सम्भावित सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको कोषले जनाएको छ ।




















