काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ अन्तर्गत चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित भएका छन्।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन्। सम्मानस्वरूप उनलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित रातो थैली प्रदान गरिएको छ।
नेपाली कला र चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिएको हो।
यसैबीच, निर्देशक नवीन चौहानको चलचित्र ‘ऊनको स्वीटर’ वर्ष २०८२ को उत्कृष्ट चलचित्र घोषित भएको छ। राष्ट्रिय चलचित्र पुरस्कार–२०८२ अन्तर्गत उक्त चलचित्रले उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो।
पुरस्कार समारोहमा राष्ट्रपति पौडेलले उत्कृष्ट चलचित्रको पुरस्कार पनि प्रदान गरेका थिए। चलचित्रमा कलाकार विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निर्वाह गरेका छन्।
राष्ट्रिय चलचित्र पुरस्कारले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र स्रष्टाहरूको योगदानको सम्मान गर्ने उद्देश्य राख्दै हरेक वर्ष विभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको छ।




















