काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँ घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो। लगातार तीन दिनको गिरावटसँगै सुनको मूल्य उल्लेख्य रूपमा ओरालो लागेको हो। यसअघि लगातार तीन दिनमा सुनको भाउ ६ हजार ५ सय रुपैयाँले बढेको थियो।
चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३०५ रुपैयाँले सस्तो हुँदै ४ हजार ६४० रुपैयाँमा झरेको छ।
नेपाली बजारमा सुनको मूल्यले गत माघ १५ गते ऐतिहासिक कीर्तिमान कायम गरेको थियो। त्यस दिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर सर्वाधिक उचाइमा पुगेको थियो। त्यसको तीन दिनपछि माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो एकदिने गिरावट मानिन्छ।




















