काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।
ग्वाडालजारा स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै मेक्सिकोले निर्णायक गोल गरेको थियो। खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै मेक्सिकोको जितको आधार बन्यो।
दुवै टोलीले खेलभर केही उत्कृष्ट अवसर सिर्जना गरेका थिए। पहिलो हाफमा गोल गर्ने अवसर पाए पनि दुवैले त्यसलाई सदुपयोग गर्न सकेनन्।
यसअघि आफ्नो पहिलो खेलमा विजयी भएका दुवै टोलीबीचको प्रतिस्पर्धामा मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै ६ अंक पुर्याएको हो। यो नतिजासँगै मेक्सिको एक खेल बाँकी रहँदै अन्तिम ३२ टोलीभित्र स्थान सुरक्षित गर्न सफल भएको छ।
समूह ‘ए’ बाट दुई खेलमा ६ अंक जोडेको मेक्सिको नकआउट चरणमा पुगिसकेको छ भने ३ अंकमा रहेको दक्षिण कोरियाको सम्भावना अझै कायम छ।
मेक्सिकोले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक रिपब्लिकमाथि जित हात पारेको थियो।




















