काठमाडौँ । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल वर्षाको मद्दतले स्विट्जरल्यान्डले विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को भारी अन्तरले पराजित गरेको छ । यो जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
लस एन्जलस स्टेडियममा बिहीबार भएको खेलमा स्विट्जरल्यान्डलाई जिताउन मान्जाम्बीले दुई गोल गरे भने रुबेन भारगास र ग्रानिट जाकाले एक–एक गोल थपे । बोस्नियाका लागि एर्मिन माहमिचले सान्त्वना गोल फर्काए ।
खेलको ८० औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहरेमोभिचले स्विट्जरल्यान्डका ब्रेल एम्बोलोलाई लडाएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा सिमित भएपछि बोस्नियाको रक्षापङ्क्ति पूर्ण रूपमा ध्वस्त भएको थियो र स्विट्जरल्यान्डले अन्तिम १० मिनेटमा तीन गोल थप्यो ।
यसअघि कतारसँग १–१ को अप्रत्याशित बराबरी खेलेको स्विट्जरल्यान्डले यो जितसँगै २ खेलबाट ४ अङ्क जोड्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ । पराजित बोस्निया भने १ अङ्कमा सिमित छ ।




















