काठमाडौं । पूर्वसभामुख तथा नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। उनले अब पार्टीको साधारण सदस्यका रूपमा रहने जानकारी दिएका छन्।
बिहीबार जारी वक्तव्यमा महराले आफू केही वर्षयता एट्रोफीसम्बन्धी रोगबाट पीडित रहेको उल्लेख गर्दै उक्त रोगका कारण नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्या भोगिरहेको बताएका छन्। नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको उनले जनाएका छन्।
स्वास्थ्य अवस्थाका कारण पार्टीका गतिविधि तथा जिम्मेवारीमा विगतझैँ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न कठिन बन्दै गएको निष्कर्षसहित आफूले सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेको महराको भनाइ छ।
वक्तव्यमा उनले विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र राजनीतिक परिवर्तनका यात्रामा निरन्तर सहभागी भएको स्मरण गरेका छन्। आफ्नो जीवनको महत्वपूर्ण समय पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उल्लेख गर्दै उनले सहकर्मी, शुभेच्छुक तथा जनताप्रति आभार व्यक्त गरेका छन्।
महराले आफ्नो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पारेका छन्।




















