काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे। विश्वकपमा पहिलोपटक सहभागी भएको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एकमात्र गोल फर्काए।
खेलको ४०औँ मिनेटमा लुइस डियाजको पासलाई सदुपयोग गर्दै डानिएल मुनोजले गोल गरेपछि कोलम्बियाले अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले अघि रहेको कोलम्बियाविरुद्ध उज्बेकिस्तानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो।
६०औँ मिनेटमा अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानलाई खेलमा फर्काए। उक्त गोलसँगै उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडीसमेत बने।
तर उज्बेकिस्तानको खुसी धेरैबेर टिक्न सकेन। बराबरी गोल गरेको पाँच मिनेटपछि नै लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २–१ को अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले अर्को गोल थपेपछि कोलम्बियाले ३–१ को सहज जित सुनिश्चित गर्यो।
जितसँगै कोलम्बियाले तीन अंक जोड्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि सोही समूहको अर्को खेलमा पोर्चुगल र डीआर कंगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।




















