काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।
आज शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि भएका छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
यसैगरी, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा सभामुखले विनियोजन विधेयक–२०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।




















