काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल माथि गम्भीर असन्तुष्टि व्यक्त गर्दै ३६ बुँदे पत्र बुझाएका छन्।
संयोजक दाहाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा खनालले पार्टी एकता भएको करिब सात महिना बितिसक्दा पनि आफूलाई कुनै जिम्मेवारी नदिई निष्क्रिय बनाइएको भन्दै नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन्। लामो राजनीतिक अनुभव र कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको अवमूल्यन गरिएको उनको गुनासो छ।
खनालले एकतापूर्व आफू र दाहालबीच मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने तथा वैज्ञानिक समाजवादलाई लक्ष्य बनाउनेलगायत विषयमा भएको सहमति कार्यान्वयन नभएको आरोप लगाएका छन्। उनले दाहाल वैचारिक रूपमा विचलित भएको र सहमति विपरीतको बाटोमा गएको दाबी गरेका छन्।
पत्रमा दाहालमाथि सहसंयोजक माधव नेपालको प्रभाव र दबाबमा परेको आरोपसमेत लगाइएको छ। नेपालले अघि सारेका प्रस्ताव र निर्णयहरूलाई मात्र कार्यान्वयन गरिएको तथा फरक मत राख्ने नेता–कार्यकर्तालाई पाखा लगाइएको खनालको भनाइ छ।
उनले साविक नेकपा (एकीकृत समाजवादी)भित्र योग्य नेता तथा युवाहरूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको उल्लेख गर्दै त्यसलाई सच्याउने प्रतिबद्धता पूरा नभएको आरोप पनि लगाएका छन्।
खनालले माधव नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन तथा निर्वाचनमा पराजयको प्रसंग उठाउँदै त्यस्तो अवस्थामा रहेका व्यक्तिलाई नयाँ पार्टीको सहसंयोजक बनाइनु नैतिक रूपमा उचित नभएको टिप्पणी गरेका छन्।
एमाले विभाजनदेखि साविक नेकपा विघटनसम्मका विषयमा पनि उनले नेतृत्वको आलोचना गरेका छन्। एमाले फुटाउनुको उद्देश्य वैचारिक नभई पद प्राप्ति रहेको तथा विगतमा नेकपा दर्ताका क्रममा गरिएको त्रुटिका कारण लाखौँ कार्यकर्ता प्रभावित भएको उनको दाबी छ।
पत्रमा ‘बहुदलीय जनवाद’ (जबज) लाई पार्टीभित्र भित्र्याएर सैद्धान्तिक विचलन गराइएको आरोपसमेत लगाइएको छ। खनालले आफूलाई जानकारी नदिई अन्तरिम विधानमा प्रजातान्त्रिक समाजवाद र बहुदलीय जनवादलाई पार्टीको लक्ष्यका रूपमा समावेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
नेता खनालले पार्टीभित्र आफूलाई ‘खोरभित्र थुनिएको जस्तो अनुभूति’ भइरहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, नैतिकता र आन्तरिक लोकतन्त्रबिनाको नेतृत्वबाट क्रान्तिकारी पार्टी निर्माण सम्भव नहुने चेतावनी दिएका छन्।




















