काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले मान्यता नदिएको व्यक्तिको सहभागिता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा हालै बसेको आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरी उपाध्यक्षको हैसियतमा सहभागी भएको विषय उठाएका हुन्।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको र नयाँ उपाध्यक्ष नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समितिमार्फत छनोट प्रक्रिया अघि बढिरहेको बताए।
यस्तो अवस्थामा पूर्वउपाध्यक्ष गिरी आयोगको बैठकमा कसरी सहभागी भए भन्ने प्रश्न उठाउँदै बरालले उक्त बैठकको वैधानिकतामाथि नै शंका व्यक्त गरे। उनले सोही बैठकबाट चिकित्सा शिक्षासम्बन्धी दीर्घकालीन महत्त्वको छात्रवृत्ति कार्यविधिसमेत स्वीकृत गरिएको उल्लेख गर्दै निर्णय प्रक्रियालाई विवादास्पद भएको बताए।
‘प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्ति उपाध्यक्षको हैसियतमा उपस्थित हुनुहुन्थ्यो,’ सांसद बरालले भने, ‘उपाध्यक्ष नियुक्तिका लागि आवेदन र छनोट प्रक्रिया चलिरहेका बेला श्रीकृष्ण गिरी कसरी उपाध्यक्षका रूपमा बैठकमा सहभागी हुनुभयो ? यो गम्भीर विषय हो।’
सांसद बरालले आयोगका गतिविधि र निर्णय प्रक्रिया विधिसम्मत ढंगले सञ्चालन गर्न सरकारसँग माग गर्दै यस्ता गैरकानुनी अभ्यास तत्काल रोक्नुपर्ने धारणा राखे।




















