काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
बुधबार बसेको बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको थियो। छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए।
यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्न खोजेका थिए। तर, सभामुख डोलप्रसाद अर्याल ले नियमअनुसार अनुमति नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोधस्वरूप संसद्को वेल घेराउ गरेका थिए।
वेल घेराउ जारी रहेपछि सभामुख अर्यालले सांसदहरूलाई आफ्नो कर्तव्य र संसदीय मर्यादा पालन गर्न सचेत गराएका थिए।
‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले बैठकमा भने।
सभामुखले पटक–पटक सांसदहरूलाई आफ्ना आसनमा फर्किन आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक सञ्चालन गर्न कठिन भएको भन्दै प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।




















