काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह माथि चिया उद्योग र किसानका समस्याप्रति बेवास्ता गरेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले इलामका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेका बेला सरकारले आवश्यक चासो नदिएको बताए। उनले तेस्रो मुलुकमा नेपाली चियाको निर्यात सुनिश्चित गर्न तथा देखिएका अवरोध हटाउन सरकारसँग मागसमेत गरे।
राईका अनुसार भारतीय चिया बोर्डले लागू गरेको एसओपी (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर) सम्बन्धी नयाँ मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको छ। उक्त मापदण्ड पूरा नभए चिया नष्ट गर्नुपर्ने व्यवस्था रहेकाले इलामका ८३ भन्दा बढी चिया उद्योग प्रभावित भई बन्द हुने अवस्थामा पुगेका छन्।
उनले इलामका चिया उद्योगी र किसानहरूले तीन दिनदेखि उद्योगमा ताला लगाएर विरोध गरिरहेको जानकारी गराउँदै यस विषयमा सरकारले कुनै प्रभावकारी पहल नगरेको गुनासो गरे।
प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै राईले सामाजिक सञ्जालमा चिया पसलमा पुगेर चिया पिएको दृश्य देखिए पनि चिया उद्योग र किसानको समस्या समाधान गर्न भने सरकारले प्राथमिकता नदिएको टिप्पणी गरे।
उनले चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकहरूको रोजगारी गुमेको तथा उद्योगीहरू बैंक ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताए। स्थानीय अर्थतन्त्र, श्रमिकको जीविकोपार्जन र बालबालिकाको शिक्षासमेत प्रभावित हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
राईले भारतसँग तत्काल कूटनीतिक संवाद गरी निर्यातमा देखिएको समस्या समाधान गर्न तथा चियाको गुणस्तर परीक्षणका लागि आवश्यक प्रयोगशाला (ल्याब) व्यवस्था शीघ्र गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।




















