काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्। बुधबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल चलिरहँदा उक्त घटना भएको हो।
छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए। जवाफ सकिएपछि श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राई साम्पाङले थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए।
तर, सभामुख डोलप्रसाद अर्यालले नियमअनुसार समय समाप्त भएको भन्दै उनलाई बोल्न अनुमति दिएनन्। त्यसलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोधस्वरूप संसद्को वेल घेराउ गरेका थिए।
वेल घेराउपछि सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र सभामुखको आदेश पालना गर्न सचेत गराए।
‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले बैठकमा भने।




















