काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षक शुल्क निर्धारण गरेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क तोकेको छ भने पर्यवेक्षकका लागि थप दुई हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ।
पार्टीले आर्थिक रूपमा विपन्न सदस्यहरूलाई महाधिवेशनमा सहभागी गराउन सहायता कोष सञ्चालन गर्ने जनाएको छ।
रास्वपाको निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ।
पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै दिनबाट महाधिवेशन सुरु हुने र त्यसका लागि मूल आयोजक समितिसहित १८ वटा विभिन्न उपसमिति गठन गरेर तयारी तीव्र पारिएको रास्वपाले जनाएको छ।




















