काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिमा सभामुखले रुलिङ नगरेको भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा पुनः प्रश्न उठाएका छन्। यस क्रममा नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि नै प्रश्न उठाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसप्रति आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेका थिए। सभामुखले बोल्ने समय दिएपछि हर्क साम्पाङले प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने र सभामुखले त्यस विषयमा रुलिङ गर्नुपर्ने माग दोहोर्याए। गोपाल शर्मा ले पनि सोही विषयमा रुलिङको माग गरे।
जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्।
प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट बोल्दै सांसद चन्द्रमोहन यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाए। उनले सभामुख पूर्वरूपमा रास्वपासँग आबद्ध रहेको स्मरण गराउँदै अहिले पनि उक्त दलसँगको सम्बन्धबाट पूर्ण रूपमा अलग हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे।
यादवले सदनको गरिमा कायम राख्न प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले रुलिङ गर्नुपर्ने धारणा राखे।
कांग्रेस सांसदको अभिव्यक्तिपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाए। उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (ख) उल्लेख गर्दै सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावबाहेक सभामुखको आलोचना गर्न नपाइने व्यवस्था रहेको बताए।
कार्कीले कांग्रेस सांसदले गरेको टिप्पणी नियमविपरीत रहेको भन्दै उक्त अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेका छन्।




















