काठमाडौँ । केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम गरेपछि साविक उपविजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै तेस्रो पटक विश्वकप उपाधि जित्ने आफ्नो अभियानलाई बलियो बनाएको हो ।
खेलको पहिलो हाफमा निकै संघर्ष गरेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्यो । खेलको ६६ औं मिनेटमा ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै रियल मड्रिडका स्टार एमबाप्पेले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मैदान प्रवेश गरेका पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राड्ले बारकोलाले खेलको अन्तिम समयमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।
इन्जुरी समयमा सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए पनि ९६ औं मिनेटमा एमबाप्पेले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै फ्रान्सको ३–१ को जित निश्चित गरे ।




















