काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच झापामा भेटवार्ता भएको छ।
मंगलबार गृहजिल्ला झापामा भएको भेटका क्रममा दुई नेताबीच करिब १० मिनेट एकान्त छलफल भएको बताइएको छ। उपसभापति शर्माका काकाको निधनपछि समवेदना व्यक्त गर्न पुगेका सिटौलासँग उनले संक्षिप्त कुराकानी गरेका हुन्।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले दुई नेताबीचको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक गर्दै उनले झापामा दुई नेताबीच ‘वान टु वान’ वार्ता भएको उल्लेख गरेका छन्।
नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र इतर समूहबीचको विवाद चर्किरहेका बेला भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटका क्रममा कुन विषयमा छलफल भयो भन्नेबारे दुवै नेताले सार्वजनिक रूपमा कुनै जानकारी दिएका छैनन्।
पार्टीभित्रको पछिल्लो समीकरण, महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा दुई नेताबीच कुराकानी भएको हुन सक्ने अनुमान गरिए पनि त्यसको औपचारिक पुष्टि भएको छैन।




















