काठमाडौं । बजेटमाथिको छलफलका लागि सम्बन्धित मन्त्रीहरू सदनमा अनुपस्थित रहेको भन्दै सांसदहरूले आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालय तथा संवैधानिक निकायहरूको विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो। कार्यसूचीअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यक्रम थियो।
त्यस्तै रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि पनि आजै छलफल गर्ने कार्यसूची रहेको थियो।
खर्च कटौती प्रस्तावमाथिको छलफल सम्पन्न भएपछि सभा अर्को कार्यसूचीतर्फ अघि बढ्न खोज्दा विपक्षी सांसदहरूले सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफल हुँदा सम्बन्धित मन्त्री सदनमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने माग उठाएका थिए।
विपक्षी बेन्चबाट लगातार आपत्ति जनाइएपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
सांसदहरूले बजेटमाथिको छलफललाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रीको उपस्थितिलाई अनिवार्य बनाउनुपर्ने धारणा राखेका थिए।




















