काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर बयान लिन थालेको छ।
अख्तियार स्रोतका अनुसार मंगलबार बिहान अर्याललाई नियन्त्रणमा लिएर आयोगको टंगालस्थित कार्यालयमा बयान लिने काम भइरहेको छ। राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा आयोगले अनुसन्धान अघि बढाइरहेको छ।
सोही अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताइएको छ। यसअघि अख्तियारले राहदानी विभागबाट ठेक्कासम्बन्धी आवश्यक कागजातसमेत नियन्त्रणमा लिएर अध्ययन गरिसकेको थियो।
कागजात अध्ययनपछि अनुसन्धानलाई थप अगाडि बढाउने क्रममा अर्यालसँग बयान लिन थालिएको स्रोतको भनाइ छ।
यता, अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले अनुसन्धानका विषयमा विस्तृत जानकारी दिन नमिल्ने बताएका छन्। उनले आयोगमा दैनिक रूपमा विभिन्न व्यक्तिहरू बयान दिन आउने–जाने क्रम रहने भएकाले कसको बयान भइरहेको छ भन्ने जानकारी आफूलाई नभएको प्रतिक्रिया दिए।
“अनुसन्धानका क्रममा रहेका सबै विषयको जानकारी हामीसँग हुँदैन। यहाँ बयान दिन आउने–जाने क्रम नियमित चलिरहन्छ। आज को–को आएका छन् र कसको बयान भइरहेको छ भन्ने जानकारी छैन। अनुसन्धानकै विषय भएकाले थप विवरण सार्वजनिक गर्न मिल्दैन,” न्यौपानेले भने।




















