विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मानव स्रोतलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसक्दा एमालेले गम्भीर राजनीतिक क्षति बेहोर्नुपरेको बताएका छन्।
नेकपा एमालेद्वारा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले विभिन्न क्षेत्रमा चुनौती सामना गर्नुपरे पनि सबैभन्दा ठूलो धक्का सूचना र सञ्चारको क्षेत्रमा परेको बताए।
उनले आफ्नो नेतृत्वको सरकारले विकास, सुशासन र समृद्धिका लागि उल्लेखनीय काम गरे पनि ती उपलब्धि जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसकिएको स्वीकार गरे। संविधान निर्माणको प्रक्रियादेखि नै अनेक अवरोध सामना गर्दै देशलाई अगाडि बढाइएको स्मरण गराउँदै उनले छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न र सामाजिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण काम भएको दाबी गरे।
ओलीले एमालेविरुद्ध फैलाइएका भ्रम र गलत प्रचारको प्रभावकारी प्रतिवाद गर्न पार्टी असफल भएको बताए। “हामीले सत्यलाई पर्याप्त रूपमा जनतामाझ पुर्याउन सकेनौँ, असत्य प्रचारको जवाफ दिन सकेनौँ,” उनले भने।
उनका अनुसार पार्टीका कार्यकर्ता र समर्थकलाई डिजिटल माध्यममा सक्रिय र प्रभावकारी बनाउन नसक्दा विपक्षी प्रचारले बल पाएको हो। आफूहरूले गरेका कामबारे जनतालाई सही जानकारी दिन नसक्दा कुनै योगदान नगरेकाहरूले समेत एमाले र उसका नेताविरुद्ध भ्रम फैलाउन सफल भएको उनले आरोप लगाए।
ओलीले भदौ २४ गते भएको घटनाको प्रसंग उल्लेख गर्दै योजनाबद्ध रूपमा एमालेलाई बदनाम गर्ने प्रयास भएको दाबी गरे। उनका अनुसार आगजनी र आतङ्क मच्चाएर पार्टीविरुद्ध नकारात्मक वातावरण सिर्जना गरिएको थियो।
“योजनाबद्ध रूपमा लागेकाहरूले भदौ २४ को आगजनी र आतङ्क मच्चाए। त्यही घटनालाई आधार बनाएर एमालेलाई बदनाम गर्ने र नेताहरूबारे भ्रम फैलाउने काम भयो,” ओलीले भने।




















