काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गर्दै त्यसो नभए आन्दोलनको स्वरूप परिवर्तन गर्ने चेतावनी दिएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्धको विरोध जारी रहने बताउँदै सभामुखलाई तत्काल आवश्यक रुलिङ गर्न आग्रह गरे।
उनले प्रधानमन्त्रीले संसद्मा दिएको विवादास्पद अभिव्यक्ति अभिलेखबाट हटाउन पटक–पटक माग गरिए पनि हालसम्म कुनै सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। हाल विपक्षी दलहरूले बैठकको सुरुमै विरोध जनाएर संसद्को कारबाही अघि बढ्न दिने गरेका छन्। तर, प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउन तयार नभए आन्दोलनका कार्यक्रम थप कडा बनाउनुपर्ने अवस्था आउने उनले बताए।
हमालले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा व्यक्त गरेको भनाइ संसद्को रेकर्डबाट हटाउन पुनः माग गर्दै उक्त विषयलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।
संसद्मा बोल्दै उनले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणको प्रसंगसमेत उठाए। नेपाल–चीन सीमासम्बन्धी विषयमा चीनसँग स्पष्ट रूपमा कुरा गर्न सरकारलाई आग्रह गर्दै उनले दार्चुला क्षेत्रमा विदेशी सैनिक हेलिकोप्टर नेपाली आकाशमा उडेको, सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको तथा चिया उद्योगहरू बन्द हुँदै गएको विषयमा सरकारको आधिकारिक धारणा माग गरे।
यसैबीच, सांसद हमालले फिफा विश्वकप–२०२६ हेर्न दर्शकबाट शुल्क असुलिएको भन्दै आपत्ति जनाए। उनले विश्वकप प्रसारणमा एकाधिकार कायम गरी दर्शकबाट अत्यधिक शुल्क उठाइएको दाबी गर्दै नेपाल टेलिभिजनमार्फत नागरिकले निःशुल्क रूपमा विश्वकप हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरे।
‘विश्वकप हेर्न दर्शकले अतिरिक्त शुल्क तिर्नुपरेको छ। सरकारले सार्वजनिक प्रसारणमार्फत सबै नागरिकलाई निःशुल्क रूपमा खेल हेर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने।




















