काठमाडौं । नेकपा एमालेले करका दर हेरफेर गरिएको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको तत्काल राजीनामा माग पुनः दोहोर्याएको छ।
सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले संसदमा आर्थिक विधेयक र आय–व्ययको अनुमान प्रस्तुत भइसकेपछि करका दर परिवर्तन गरिएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए।
उनले घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरे। यति ठूलो प्रकृतिको निर्णय उच्च राजनीतिक नेतृत्वको जानकारीबिना सम्भव नहुने दाबी गर्दै उनले अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिएर पदबाट अलग हुनुपर्ने धारणा राखे।
‘राजश्व र व्ययको अनुमान तथा आर्थिक विधेयक संसदमा प्रस्तुत भइसकेपछि करका दर हेरफेर गरिएको छ। यसको तत्काल छानबिन हुनुपर्छ र दोषीमाथि कडा कारबाही गरिनुपर्छ,’ दंगालले भने, ‘यस्तो घटना नेतृत्वको संलग्नताबिना सम्भव देखिँदैन। त्यसैले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ र संसदीय छानबिन समिति गठन हुनुपर्छ।’
दंगालले सरकारले प्रस्तुत गरेको बजेट समाजवादउन्मुख अर्थतन्त्र निर्माणको लक्ष्यअनुसार नआएको टिप्पणी पनि गरे। बजेटमा समावेश गरिएका केही सकारात्मक व्यवस्था भए पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा आफूलाई आशंका रहेको उनले बताए।
सरकारले घोषणा गरेका कार्यक्रम र योजनाहरू कार्यान्वयनको चरणमा पुग्दा अपेक्षित परिणाम नआउने जोखिम रहेको भन्दै उनले बजेटको विश्वसनीयता र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाए।




















