काठमाडौं । नेकपा एमालेका नवनियुक्त केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल माध्यममार्फत पार्टीको विचारलाई देशभरका नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै आचार्यले सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत एमालेको सन्देश हरेक नागरिकको मोबाइल स्क्रिन र जनमानससम्म पुर्याइने बताए।
‘हाम्रो विचार–डिजिटल सञ्चार। अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन–मनमा पुग्नेछ,’ उनले भने, ‘हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्नेछौँ।’
आचार्यले पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा गलत सूचनाको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गरिने स्पष्ट पारे। उनले एमाले दुष्प्रचारमा नभई सत्य र तथ्यको पक्षमा उभिने दाबी गरे।
‘हामी प्रोपोगान्डा वा दुष्प्रचार गर्दैनौँ। तर, विरोधीहरूले फैलाउने भ्रमलाई सत्यको बलमा चिर्नेछौँ,’ उनले भने, ‘सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन।’
उनले डिजिटल युगअनुकूल सञ्चार रणनीति अवलम्बन गर्दै पार्टीका नीति, कार्यक्रम र दृष्टिकोणलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउने लक्ष्यसहित विभागलाई सक्रिय बनाइने पनि बताए।




















