काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको अभिव्यक्ति गैरजिम्मेवार बन्दै गएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई बोलीमा नियन्त्रण गर्न आग्रह गरेका छन्।
सोमबार भिडियो सन्देशमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिनुस्’ भन्ने अभिव्यक्ति दिएको घटनाप्रति आपत्ति जनाए।
‘एकजना मन्त्रीज्यू सडकमा पुग्नुभयो र बाटो निर्माणमा ढिलाइ भइरहेको भन्दै निर्माण व्यवसायी भेटिए खुट्टा भाँचिदिनुस् भन्नुभयो,’ शर्माले भने, ‘यस्ता अभिव्यक्तिले सरकारको शैली र सोचमाथि प्रश्न उठाउँछ।’
उनले कैलालीमा एक श्रमिक महिलाको टेम्पो भिरबाट खसालिएको घटना तथा सिरहामा परीक्षा केन्द्रबाट संकलन गरिएका ५०० भन्दा बढी मोबाइल फोन पानीमा फालेर नष्ट गरिएको घटनाको समेत चर्चा गर्दै राज्य संयन्त्रको व्यवहारप्रति चिन्ता व्यक्त गरे।
प्रधानमन्त्री शाहले निर्वाचन अभियानका क्रममा बाटो निर्माणमा ढिलाइ भए सम्बन्धित व्यक्तिलाई रुखमा बाँधेर समाधान गर्नुपर्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै शर्माले अहिलेका घटनाहरू त्यही सोचको निरन्तरताजस्तो देखिएको टिप्पणी गरे।
‘प्रधानमन्त्रीज्यू, समाज कता जाँदै छ ? भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘कानुनी शासनमा समस्या समाधानको उपाय दण्डात्मक उग्रता होइन, विधि र प्रक्रिया हुनुपर्छ।’
शर्माले मन्त्रीहरूका पछिल्ला अभिव्यक्तिलाई अपराधको सजायका नाममा अस्वाभाविक र अमानवीय दण्डको वकालत गर्ने प्रवृत्तिसँग तुलना गर्दै सरकारलाई जिम्मेवार र संयमित भाषाको प्रयोग गर्न आग्रह गरेका छन्।




















