काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै साम्पाङले प्रधानमन्त्रीको विवादित भनाइ हटाउन सभामुखले कहिले आदेश दिने हो भन्दै प्रश्न उठाए।
‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ भनेर हामी प्रतीक्षामा छौँ।’
साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बाट भएको भनिएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको दुर्व्यवहारको विरोधमा उत्रिएका युवामाथि गरिएको कारबाहीप्रति पनि आपत्ति जनाए। माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका अजय सोदारी र बिरजन विकलाई पक्राउ गरी झुट्टा मुद्दा लगाउन खोजिएको आरोप लगाउँदै उनले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराए।
देशभक्त भावनाले प्रेरित भएर आन्दोलनमा उत्रिएका युवालाई दुःख नदिन र तत्काल रिहा गर्न उनले सरकारसँग माग गरे।
सांसद साम्पाङले प्रहरीको पछिल्लो व्यवहारप्रति समेत प्रश्न उठाए। विद्यार्थीका मोबाइल फोन खोसेर नष्ट गरिएको तथा एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनालाई उनले अमानवीय भन्दै दोषीमाथि कारबाहीको माग गरे।
पीडित टेम्पो चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। सुरक्षाकर्मीबाट सर्वसाधारणको घरमा ढुंगा प्रहार गर्ने जस्ता गतिविधि भएको उल्लेख गर्दै उनले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षा होइन, त्रास महसुस गर्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताए।
नागरिकले प्रहरी देख्दा सुरक्षा, भरोसा र शान्तिको अनुभूति गर्ने वातावरण निर्माण गर्न तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्न उनले सरकारसँग आग्रह गरे।




















