काठमाडौं । नेकपा एमालेले गिरीबन्धु टी–स्टेट प्रकरणको फाइलबाटै छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभामा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ‘फाइल खोल्ने’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सबै विवादित प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले गिरीबन्धु टी–स्टेटको फाइल पहिलो नम्बरमा खोल्नुपर्ने बताइन्। त्यसपछि विपक्षीसँग जोडिएका भनिएका ओम्नी र वाइडबडी प्रकरणका फाइलसमेत सार्वजनिक गरी वास्तविकता बाहिर ल्याउनुपर्ने उनको माग थियो।
‘फाइल खोल्ने धम्की कसलाई दिइएको हो ? गिरीबन्धु टी–स्टेटको फाइल एक नम्बरमा खोलियोस्। त्यसपछि ओम्नी र वाइडबडीका फाइल खोलियोस् र सत्य कुरा जनतासामु ल्याइयोस्,’ उनले भनिन्।
अर्यालले सरकारका जिम्मेवार मन्त्रीहरूले विपक्षीमाथि आरोप लगाउने र विभिन्न प्रकरणका फाइल देखाएर राजनीतिक दबाब सिर्जना गर्न खोजेको आरोप समेत लगाइन्। यस्तो प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत र खेदजनक भएको उनको भनाइ थियो।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले एमाले सांसद पद्मा अर्याललाई आफ्नो धारणा राख्न समय दिएका थिए।




















