काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति र बचपनाप्रति कटाक्ष गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै काउँचाले प्रधानमन्त्री कुनै दिन संसदमा आएर ‘म त जिस्किएको पो थिएँ’ भन्न सक्ने टिप्पणी गरिन् ।
उनले भनिन्, ‘हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर संसदबाट बेपत्ता हुनुभएका प्रधानमन्त्री कता हुनुहुन्छ कुन्नि ? थाहा छैन फेरि कुन दिन अचानक आएर म त जिस्किएको पो भनेको थिएँ भन्नुहोला ।’
प्रधानमन्त्री बालेन शाहले सार्वजनिक बिदाका दिन आइतबार साँझ फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेको तस्बिरसहित ‘देश बनाउने टोली’ लेखेको तीन घण्टापछि अर्को स्टाटस लेखेका हुन्।
दोस्रो स्टाटसमा उनले लेखेका छन्, ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन …दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।’ भनेका थिए । त्यसप्रति इंगित गर्दै सांसद काउँचाले सो कुरा बताएको हुन सक्छ ।
सांसद काउँचा प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गर्न थालेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।




















