काठमाडौं । इरान र अमेरिकाबीच हुन लागेको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीले स्वागत जनाउँदै यसलाई मध्यपूर्वमा स्थिरता र विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।
चार युरोपेली राष्ट्रका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका, इरान तथा क्षेत्रीय साझेदारहरूसँग मिलेर सम्झौताबाट उत्पन्न अवसरको अधिकतम उपयोग गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘ई–४’ समूहका नामले परिचित यी देशहरूले कूटनीतिक उपलब्धिका लागि अमेरिका, इरान र वार्तामा संलग्न सबै पक्षलाई बधाई दिएका छन्। उनीहरूले पाकिस्तान, कतारलगायत मध्यस्थकर्ताहरूको भूमिकाको पनि प्रशंसा गरेका छन्।
संयुक्त वक्तव्यमा इरान–अमेरिका शान्ति सम्झौताले क्षेत्रीय तनाव कम गर्न, स्थायित्व कायम गर्न र विश्व अर्थव्यवस्थामा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ। साथै, सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै पक्षलाई प्रतिबद्धता पूरा गर्न आग्रह गरिएको छ।
युरोपेली नेताहरूले ‘स्ट्रेट अफ होर्मुज’ तत्काल सञ्चालनमा ल्याउन तथा कुनै पनि शर्त वा अवरोधबिना जहाज र जलयातायातको स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
वक्तव्यमा लेबनानको स्थिरता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति युरोपेली राष्ट्रहरूको समर्थन पनि पुनः व्यक्त गरिएको छ।



















