काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ को प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ ।
मेक्सिकोको मोन्टेरेस्थित स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले दुई गोल गरे भने अलेक्जान्डर इसाक, भिक्टर ग्योकेरेस र माथियास स्भानबर्गले समान एक–एक गोल थपे। ट्युनिसियाका लागि ओमार रेकिकले सान्त्वना गोल फर्काए।
स्वीडेनले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो। यासिन अयारीले गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। ट्युनिसियन बाबु र मोरक्कन आमाबाट स्वीडेनमा जन्मिएका अयारीले भने गोल गरेपछि कुनै उत्सव मनाएनन्।
३०औँ मिनेटमा अलेक्जान्डर इसाकले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए। भिक्टर ग्योकेरेसको पास नियन्त्रणमा लिएर इसाकले डिफेन्डरलाई छल्दै आकर्षक फिनिसिङ गरेका थिए।
पहिलो हाफको अन्त्यतिर ट्युनिसियाले खेलमा फर्कने संकेत देखायो। ४३औँ मिनेटमा हानीबल मेजब्रीको क्रसलाई ओमार रेकिकले हेडमार्फत जाली चुमाउँदै अन्तर घटाए।
दोस्रो हाफमा भने स्वीडेन थप आक्रामक बन्यो। ५९औँ मिनेटमा ग्योकेरेसले गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा पुर्याए। त्यसपछि ८६औँ मिनेटमा स्भानबर्गले गरेको गोललाई सुरुमा अफसाइड भनिए पनि भिएआर परीक्षणपछि गोलको मान्यता दिइयो।
इन्जुरी समयको छैटौँ मिनेटमा अयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीडेनको जितलाई ५–१ को फराकिलो अन्तरमा पुर्याए।
जितसँगै स्वीडेनले समूह ‘एफ’ मा तीन अंक जोडेको छ। यसअघि भएको समूहकै अर्को खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै एक–एक अंक बाँडेका थिए। समूहमा स्वीडेन शीर्ष स्थानमा रहेको छ भने नेदरल्यान्ड्स र जापान समान एक–एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ट्युनिसिया भने अंकविहीन रहेको छ।




















