विराटनगर । शशांक कोइरालाले नेपाली कांग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयका कारण पार्टी अहिलेको अवस्थामा पुगेको दाबी गरे।
कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै तिनै निर्णयहरूको परिणामस्वरूप कांग्रेस व्यवहारतः विभाजित बनेको आरोप लगाए।
उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी एकता नै सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै बलियो कांग्रेसबिनाको लोकतान्त्रिक व्यवस्था र देशको विकास कल्पना गर्न नसकिने बताए।
लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र परिवर्तनको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।
पार्टी नेतृत्वतर्फ संकेत गर्दै कोइरालाले लामो समयदेखि कांग्रेसमा योगदान दिएका अनुभवी नेताहरू बाहिर रहँदा सीमित व्यक्तिले मात्र पार्टी सञ्चालन गर्न कठिन हुने धारणा राखे।
‘लामो संघर्ष र बलिदानबाट बनेको कांग्रेस आज टुक्रिएको अवस्थामा देखिनु दुःखद विषय हो,’ उनले भने, ‘यो पार्टी आफैं विभाजित भएको होइन, विभाजनतर्फ धकेलिएको हो।’
कोइरालाले आन्तरिक एकता, संवाद र सहकार्यलाई प्राथमिकता दिएर पार्टीलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।




















